A transcript of my conversation with Himalkhabar ...
१. तपाईको जन्म र बाल्यकाल कहाँ, के कसरी वित्यो?
जन्म हलेसी दुर्छिम खोटाङ्गमा भएको हो तर करिब पांच-छ बर्सको उमेरमा चामल भात खान पाईन्छ भन्ने लोभमा फुर्कीदै पिताजीलाई पछ्याउंदै २०२८ सालतिर झापामा बसाइ सराइ भयो! तर त्यहाँ झोडामा धान फल्ने भएपो चामलको भात खान पाउनु! अलि-अलि हाण्डिफ़ोर भन्ने जंगली धान फल्थ्यो यो धानको भात खाँदा न टोक्न सक्नु न निल्न सक्नु हुन्थ्यो।
तै पनि मिठो लाग्थ्यो। बल गरेर गाँस निल्न लाग्दा अनुहार तन्किएको देखेर घरमा सबै मलाइ हेरेर हाँस्थे। प्राय झोडा जंगलमै समय बिताउनु पर्थ्यो। जंगली जनावर र पसुपंछिहरु मेरा साथी हुन्थे. सुरुका झोड़े दिनहरु असाध्ये बिरानो लाग्ने गर्थ्यो।
२. प्राथमिक शिक्षा कहाँ पाउनु भयो?
तेहीं झापा लालझोडा श्री भानु प्राबिमा भयो। तर त्यो बेला जंगल र खोल्साको बाटो भएर ईस्कुल जाँदा कस्तो अवस्था हुन्थ्यो होला! इस्कुल पुग्न एक घण्टा भन्दा बढी हिंड्नु पर्थ्यो।
घर भएको ठाउँ नै सार्है अपायक थियो। अर्थ बुझ्नुहोला गत वर्ष दमक मालपोत कार्यालयभित्र एक जना ईञ्जिनिअर भेटेको थिएँ। वहाँले बताउनुभएको कुरा हो "अझै पनि त्यो ठाउँ ज्यादै दूर अलग पृथक रहेको पायौं त्यसैले गर्दा नयाँ नगरपालिकाहरु बनाउंदा त्यो ठाउँको पुरानो नाम हटाएर नयाँ नाम श्रीलंका टोल राखेका हौँ।"
३. माध्यमिक तहसम्मका अरु सम्झना सुनौं न।
ऒहो ती सम्झनाहरु डरलाग्दो सपना जस्तो लाग्छ मलाइ। लालझोडामा ३ कक्षा सम्म मात्र थियो त्यो सकेर १० कक्षासम्म श्री जन आदर्श माध्यमिक बिद्यालय शिवगंजमा भयो। त्यो ठाउँ पनि तेतिनै दुरीमा हिंड्नु पर्थ्यो। पढ्ने कुरा छाडौं केवल ईस्कुल जाने काम हुन्थ्यो. टिफिन ब्रेकमा खेल्न खुबै मज्जा आउथ्यो. तर जीवन कठिन थियो सांचिकै कठिन. झोडाको ठाउँ जंगली घुमन्ते जीवन (नोम्याडिक लाइफ) थियो. सुरुका बर्सहरुमा एक बाली मात्रै खेति हुन्थ्यो. बैसाख जेठ देखि पुस महिनासम्म बाली नऊकेरिञ्जेल खेतीको काममा डल्लिएर लाग्नु पर्थ्यो. माघ महिना देखि बैसाख सम्म चार महिनाको अवधिमा काम गर्नु पर्दैन थियो त्यो अवधि साँच्चिकै रमाइलो हुन्थ्यो. त्यो समयमा चराको गूँद खोज्ने, कुकुर लिएर जंगलमा शिकार गरेको, गोठालो गएको, गाइ हराएको, स्यालले आँखै अगाडी बाख्रा मारेको, भुमरीमा उडेको, तरुल गिट्ठा भ्यागुरहरु खोजिन्थ्यो, माछा मार्न तेहिबेला सजिलो हुन्थ्यो. तेही समयमा पाहुना आउने गर्थ्यो अलि मिठो खान पनि पाइन्थ्यो! पल्लो गाउँको झाँक्री अंकलको घोडा फुकालेर कुदाइन्थ्यो. गाईबस्तु किनबेच र हलगोरु तयार गर्ने समय पनि येही चार महिनाको समयमा हुने गर्थ्यो. तर किनबेच गर्न चार पाँच घण्टा खोला जंघारको बाटो हिंड्दै पूर्वमा घैलाडुब्बा वा पश्चिममा दमक पशुहाट बजारमा पुग्नुपर्थ्यो. कसरि बाँच्ने जीवन धान्ने पहिलो प्राथमिकता थियो ईस्कुल जाने कुरा त दोस्रो.
तर समय संगसंगै मलजल, बिउबिजन, शिप र बजारमा परिबर्तन आयो. झोडाकै ठाउं भएपनि अब भने बार्हैमहिना फसल बालि लाग्न थाल्यो. झन् धेरै हलो कोदालो गर्नुपर्ने हुन्थ्यो. बिहान १० बजेको इस्कुल हुन्थ्यो तर १० बजे सम्मत खेतमा हलो जोत्नुपर्थ्यो. अनि भात खानासाथ कुददै इस्कुल पुगिन्थ्यो. पसिनाले शरीर दुन्ग्दुन्गती गन्हाउथ्यो. ईस्कुलमा ढिलो पुगेर कोर्रा खानु पर्थ्यो. समय त्यस्तैनै थियो कुनै गुनासो थिएन. मेरो त्यो बेलाको हैरानिहरु बताउदा साथीहरुले पत्त्याउदैन थिए किनभने उनीहरुको अवस्था अलि अर्कै थियो .... पछि गएर कलेजमा पनि साथीहरुले मेरो बास्तबिकता पत्त्याउदैन थिए. आज भोलित झनै पत्याउदैन. सायद गड गिफ्ट होला मेरॊ अनुहारमा पिडा रुन्चे झोक्राएको मुहार देखिदैन त्यो कुराले मानिसलाई अर्कै छाप पार्दो रहेछ. यहाँ हवाईमा पनि "बुद्धि यु लूक अल्वेईज ईस्माइलिङ्ग" भन्छन. इस्कुले जीवनका केहि साथीहरुले मलाई ब्रिटिश लाहुरे धनिको छोरो भन्ने सोच्थे. बुबा र मेरॊ जीवनशैली लवज देखेर अरुलाई हुनेखानेजस्तो भान हुने गर्दोरहेछ.
धेरै पछि काठ्माण्डौमा मास्टर्स डिग्री पढीसकेपछि करिब ३१ बर्सको उमेरमा बिहे गरें. त्यसपछि संगै दुइबर्ससम्म बसिसक्दापनि आफ्नै श्रीमती समेतले मेरा ती ईस्कुले जीवनको कहानीहरु कहिलेइ पत्त्याइन. हातको ठेला देखाउदापनि पत्त्याउदैन थिई. जब-जब गाउँ गईन्थ्यो त्यो बेलामा उसले अरुहरुबाट खास गरि सोझा दिदि बहिनिहरुबाट मेरा सबै यथार्थ कुरा कथा व्यथा सुन्थी. मेरा प्रमाणहरु पाउथी. तब मात्र मेराबारे थाहा पाई. जुन दिन उसले मेरो बारे भनिएका कुराहरु बिस्वास गरि तब मात्र उसले मतिर उत्सुक अनौठो ढंगले नजर लगाउंदै "यो मान्छे कस्तो ज्याद्रो रहेछ" भन्थी! अनि हाँसो रमाइलो हुन्थ्यो. मेरो छोरोलाई पनि मेरा यी सबै कुराहरु थाहा छैन. तपाइको यो अन्तर्वार्ता पढ्यो भने उसले पनि मेरो ईस्कुले जीवन थाहा पाउनेभो तपाइलाई धेरै-धेरै धन्यबाद. तर जतिसुकै दुख कस्ट भएपनि ईस्कुलका ती दिनहरु एकदमै सरल र साँच्चिकै सुन्दर थियो! मलाइ आज पनि तीनै क्षणहरुबाट उर्जा मिलिरहेको अनुभूति हुन्छ.
मेरो स्वभाव र सुरोपनले गर्दा मलाइ धेरैवटा उपनामहरुले बोलाउने गर्थे. त्यो मध्ये सबै भन्दा लोकप्रिय नाम "बुट्टे" भन्थे. सानो डल्ले थिएँ. सायद म बुट्टा जस्तै देखिन्थें होला. किन बुट्टे भन्थे थाहा छैन. केहि दिन पहिले फोनमा कुरा हुँदा मेरो इस्कुलको सहपाठी गायक जीतेन राईले त्यो उपनाम सम्झाउनु भाथ्यो. तर ती उपनामहरुबाट म अचेल मेरो पासवोर्डहरु बनाउँछु. मज्जा लाग्छ. मलाइ नयाँ पासवोर्ड के राख्ने भनेर सोचनै पर्दैन.
६ कक्षामा पढ्दा म भन्दा धेरै ठुली सहपाठी केटीसंग एउटै बेञ्चमा बस्नु पर्थ्यो. मलाइ उसले आफ्नो खानेकुरा खान दिन्थी. आफूभन्दा सानो देखेर मलाई माया गर्थी. के कारणले हो उनीसंग एकदिन हातपात गरेर झगडा भयो. त्यो कुराले उनलाई बढी चोट पुग्यो. हाम्रो झगडा छुट्ट्याउन कोहि आएन बरु सबैजना वरिपरि भएर उक्साए उनी कम्जोर र म बलियो भए जस्तो पारे. एकछिन पछि आँसु पुछ्दै हामि फेरी मिल्यौं. पहिला जस्तै मिलेर चट्टि खेल्थ्यौं. तर अचेल कहिलेकाहीं त्यो झगडा सम्झदा दिक्क लाग्छ.
ईस्कुल पढ्दा म आफुमा के कुराको उत्साह (ईन्थुजिआज्म) लुकेको छ त्यो चिन्न सक्ने क्षमता थिएन न त अरु कसैले बताइदिने बाताबरण नै थियो. मलाइ गणितमा असाध्ये चाख थियो तर गणित जान्दछु भन्ने थाहा थिएन. सात कक्षामा प्रल्हाद राय सरले पढाउनु भएको गणितका कुराहरु मेरो मस्तिस्कमा संधै घुमिरहन्छ. वहाँले कक्षामा गणितको समस्या हल गर्न दिनुहुन्थ्यो. प्राय राम मैनाली र मैले सहि उत्तर दिन्थ्यौं. तर हामि दुवै जना कक्षाको अब्बल श्रेणीमा पर्ने बिद्यार्थी थिएनौ. औसत बिद्यार्थी ठानिनथियौं. यौटा गार्हो परीक्षामा मैले १९/२० प्राप्त गरें रामजीले २०/२०. वहाँले संधै म भन्दा बढी ल्याउनुहुन्थ्यो. त्यो परीक्षाको एउटा प्रश्न त मलाइ अहिले पनि याद छ. सायद रामजीले बिर्सिसक्नु भा होला.
अचेल कहिलेकाहीं यसो सोच्छु तेहीबेलादेखिनै गणित बिसयमा मेरो गहिरो अन्तर्दृष्टि रहेछ. तेही कारणले होला म पछि गएर भौतिकशास्त्रको बिद्यार्थी हुन पुगें. गणितबिना भौतिकशास्त्र असम्भव छ र गणित बुझ्ने क्ष्यामता भएकोले गर्दा आज म यो ठाउँमा छु जस्तो लाग्छ. त्यो बेला मसंग गणितको किताब हुँदैन थियो. म गणित जान्दछु भन्ने आँट र चेतना पनि थिएन. अचेल सोच्दा त्यो बेला बिद्यार्थीमा लुकेर बसेको प्रतिभालाई संगठित गर्ने वातावरण थिएन जस्तो लाग्छ. सबैले मलाई माया दर्शाएर हेप्ने गर्थ्यो. गुरुहरुले पनि बुट्टे भनेर बोलाउनुहुन्थ्यो.
एसएलसी गणितमा धेरै अंक ल्याएकोले गर्दा मलाई कलेजमा सहयोग मिल्यो त्यो बेला गणितको अंक जोड्ने गरिन्थ्यो. यी सब तिता मिठा अनुभवले गर्दानै होला मेरो शिक्षण दर्शन संधै तल्लो दर्जामा पर्ने कम कौशल बिध्यार्थीहरुलाइ लाभ दिने पक्षमा केन्द्रित हुन्छ. मेरो कक्षाकोठा अबलोकन गर्ने धेरै सहकर्मीहरुले पनि यो कुरालाइ समीक्षा गरिदिनु भएको छ.
४. उच्च शिक्षा कहाँ लिनु भयो?
आइ एस्सी धरान फुड टेक्नोलोजी क्याम्पस हात्तिसारमा पंधें. तर म एक महिनाको कोर्स पढाई भैसकेपछि मात्र भर्ना भएको थिएँ. निकै चिन्तित थिएँ तर मसंग गणित गर्न सक्ने क्षमता अझै रहेछ भन्ने कुरा भर्ना भएको पहिलो हप्तामै लिएको अजैविक रसायनशास्त्रको मूल्यांकन परीक्षामा फेरी पनि महसुस गर्न पुगें. पढ्न सक्छु भन्ने हौसला जाग्यो.
रसायनशास्त्र भएपनि सुरुको पाठहरुमा सबै जसो प्रश्नको अलजेब्रा प्रयोग गरेर उत्तर लेख्नुपर्थ्यो. मलाइ के शब्द लेख्ने भन्ने राम्रो थाहा थिएन अंग्रेजी शब्दहरु नमिलेको भएपनि समीकरण हल् गर्दै जाँदा आएको अंकहरु उत्तरमा लेखेको थिएँ. अर्को हप्ता प्रोफेसरले परीक्षाको रिजल्ट ल्याबको ढोकामा टाँसेको रहेछ. मैले सबैभन्दा बढी अंक ९३/१०० प्राप्त गरेको रहेछु. यो देख्नासाथ मुटू तातो भएर आयो. अलि चकित पारें किनभने मेरो कक्षामा पुर्बी नेपालको राम्रा इस्कुलहरुबाट आएका सेलेक्टेड बिध्यर्थिहरु थिए.
तिन वर्ष लगाएर धरानबाट आइएस्सीको पढाई पुरा गरेपछि काठमाडौंको अमृत साईन्स क्याम्पसबाट बीएस्सी र त्रिभुवन बिस्वबिध्यालय कीर्तिपुरबाट एमेस्सी पुरा गरें. तर जानेर वा नजानेर जिन्दगी संधैं अस्तव्यस्त (chaotic) भईदियो. खासगरी बिस देखि तिस बर्सको उमेरमा के गरियो कसरि समय बित्यो के पढियो पत्तै भएन. तै पनि आफ्नो शैक्षिक गतिविधिलाई एक हदसम्म ब्यबस्थित गरेको थिएँ. धेरै लामो समयको अन्तराल पछि फेरी अमेरिकाबाट सन् २००५/६ तिर मास्टर्स डिग्री र २०१२ सालमा उत्कृष्ट रेकर्ड कायम गरि फिएच्डी पुरा गरें. यो अन्तिम मौकामा ठ्याक्कै के गरें के पढें भन्ने कुरा मलाइ राम्रो थाहा छ. त्यसपछि मेरो शैक्षिक करिअरलाइ झन् राम्रो ब्यबस्थित गर्न सकें.
तर अमेरिकामा पढ्न सुरु गरेको केहि सेमेस्टर पछिदेखि मेरो सिकाइ र अध्ययनको तरिका अलि फरक भएर गएको जस्तो लाग्छ. प्राय विद्वान हुँ भन्नेहरुले ठुला सिद्धान्तका कुरा गर्छन. यसको लागि म उहाँहरुलाई सम्मान गर्छु. म पनि सिदान्तबाटै आफुलाई दिशानिर्देश गरिरहेको हुन्छु. तर मेरो काम (accomplishment) अरुहरुकोभन्दा फरक ढङ्गले हुने गर्दो रहेछ. केही पनि पत्ता नलगाई ठूलठूला मुद्दाहरूको छलफल गर्नु भन्दा बरु म एकल सानो तथ्य पत्ता लगाउन चाहँदो रहेछु. सानो काम नै किन नहोस सिदान्तलाई थ्वाक्कै अभ्यास गरेर मात्र फैसला गर्दो रहेछु. मेरो यो कुरा मेरो बिसय प्रस्तुत गर्नु अगाडिनै श्रोताहरुलाई बताउने गर्दछु. अमेरिकामा मेरो पेशागत जीवनका सल्लाहकारहरूले मेरो यो विधिलाई प्रशंसा गर्नुहुन्छ.
५. बाल्यकालमा के हुने सपना देख्नुहुन्थ्यो?
तपाइंले जान्न खोजनु भएको जस्तो सपना के हो त्यो नै थाहा थिएन. सपना सुन्ने सुनाउने बाताबरण नै थिएन. धेरै माथि आकाशमा जहाज उडेको देख्दा आफुपनि उड्दै टाढा पुग्ने जिज्ञासा हुन्थ्यो. पृथिबी गोलो भएकोले गर्दा उडेको उदेई गर्यो भने फेरी पहिलाकै ठाउमा आइपुगिन्छ भन्ने सुनेपछि मं भ्रममा पर्थें. आठ कक्षामा पढ्दा ईस्कुल छेउमै बाणिज्य ब्यांकको शाखा खुल्यो. त्याहाको कर्मचारीहरु शिशाको बारभित्र सुकिलो भएर काम गरेको देख्दा बैंकर बन्ने उत्कट ईच्छा जाग्थ्यो.
अंकगणितमा नाफा घाटा मूलधन बारे पढ्दा यो पक्का पनि ब्यांकसंग सम्बन्धित होला भनेर आफै अड्कल लगाउथे. कतिलाइ सोध्थें कसैले भन्न सक्दैन थिए. कक्षाको जान्ने बिध्यर्थिसंग सोध्न धक लागेर आउथ्यो झन् शिक्षक संग त पर परै बसिन्थ्यो. समयनै तेस्तो थियो. दस कक्षा पधिसकेपछी दिमागमा अरु धेरै कुरा पसिसकेको थियो Banker बन्ने इच्छा तेसै सेलाएर गयो. तर पढेर के बनिन्छ होला भन्ने कुराले संधै मनभित्र उन्पन्न हुने गर्थ्यो.
पछि गएर कलेज भर्नाको लागि बायोलोजि ग्रुपमा नाम निस्कियो तर त्यो पनि पढ्ने ईच्छा भएन. कसैले द्वोंदात्मक भौतिकबाद तत्वज्ञान सम्बन्धि किताब पढ्न दिएका थिए तेहीबाट प्रभावित भएर भौतिकबादी बन्न फिजिकल ग्रुप (भौतिकशास्त्र) पढ्ने सपना बोकेको थिएँ. यो पढेर के गर्ने होला भन्ने प्रस्ट थाहा नभएपनि यो बिसय पढेपछि ईञ्जिनिअर बन्ने बाटो पनि खुल्छ भन्ने सुनेको थिएँ. त्यो बेला इञ्जिनिअरिङ्ग बिसयको ठुलो माग थियो तेसैले फिजिकल् ग्रुपमा नाम निकाल्न कडा प्रतिस्पर्धा हुने गर्थ्यो. महिनौ कुर्दा पनि फिजिकल् ग्रुपमा नाम निस्किएन. बहुतै निराश भएँ. अन्तमा कुनै पनि बिसय नपढ्ने नै निधो गरें. बुबाले बिहे गरिदिने कुरा ल्याउनुभो र छिमेकी गाउँको साइँला घिमिरे अङ्कलमार्फत केटि हेर्न जाने भनेर एउटा नयाँ प्यान्ट किनिदिनू भाथ्यो.
उता कलेजमा करिब एक महिना अगाडिनै पढाई सुरु भैसकेको थियो. एक दिन बिहानै बुबा र म आँगनसंगै जोडिएको खेतमा हलो जोत्दै थियौं. एक्कासी बयोलोजि ग्रुपमा पढ्दै गरेका साथि टिका पौडेल मलाई खोज्दै-खोज्दै बारीमै टुप्लुक्क आइपुग्नु भयो. मलाइ देख्नासाथै उनले भने "लु साथि तेरो नाम फिजिकल ग्रुपमा निस्कियो भर्ना हुन तिन दिनको समय दिएको छ आज अन्तिम दिन हो पढ्ने भए तुरुन्त आजै धरान गएर भर्ना गर्नु!"
अब पर्यो फसाद! एकैछिन बुबा आमा र म बीच खल्यांग्बल्यंग कुरा भयो. धेरै परामर्श नगरिकनै "लु तेरो हलगोरू खोलिहाल" भनेर बुबाले भन्नुभयो र आमालाई भन्नुभयो "त्यो ७ सय रुपिया र अलिकति चामल दिएर पठा." करिब १० मिनेटभित्रै टिकाजी संग हामि सबैले बिहानीको खाजा उसिनेको तरुल खायौं. बुबा फेरी आफ्नो हलगोरु जोत्न लाग्नुभो. टिकाजिले मलाइ सबै प्रक्रियाहरु बताउनुभो र आफ़ुचैं केहिदिनपछि मात्रै कलेजमा आउछु भनेर आफ्नो घर झिल्झिलेतिर लाग्नु भो.
म पनि वहाँकै पछि-पछि एकदुई घण्टा हिंडेर झिलझिले पुगें र धरान जाने एक्सप्रेस बस समातें. दिउँसोको ३ बजे तिर धरान क्याम्पस हात्तिसार पुगें. अफिस बन्द हुन लागेको रहेछ. तर त्यहा फेरी अर्को लफ़ौडा सुरु भयो. क्याम्पस प्रमुख जगत बहादुर केसी र बिद्यार्थी नेता खुनारायण श्रेष्ठ भन्नेको जाल भित्र परें. त्यो अर्को अनौठो अनुभब छ. त्यो जालको कथा अलि लामो छ अर्को भेटमा गरौला. जे भएपनि म धन्य छु कलेजमा भर्ना हुन पाउने कुरा क्याम्पस प्रमुख जगत केसीले टोक लगाइदिनुभो र तेही बेलुकिबाटै डेरा बस्ने कुरा खुनारायण दाइले बल्ल निश्चित गरिदिनु भयो.
यदि टिकाजीले खोज्दै-खोज्दै त्यस्तो अपायक ठाउँमा मलाई खबर नल्याइदिनु भएको भए सायद म एतिबेला युनिभर्सिटिमा नभएर बाख्रा पालन गरेर बसेको हुन्थेँ होला! म टिकाजीप्रति अत्यन्तै कृतज्ञ छु अचेल फोनमा कुरा हुँदा उहाँलाई यो कुरा सम्झाउनेगर्छु. हामि दुबैलाई मज्ज्ज्ज्ज्ज्जा आउछ. फेरी कहिलेकाहीं यसो सोच्छु येदि बुबाले त्यो दिन "लु तेरो हलगोरू खोलिहाल" नभन्नु भएको भए साएद म अहिले पनि हलोको अनौ समातेर बस्थें होला. अलि दुख: अड्चन भयो त्यो बेला. अहिले सोच्दा म भित्र पहिला देखिनै चरम (एक्स्ट्रिम) किसिमको एक्शन हुँदो रहेछ. बायोलोजिमै भर्ना गरेर पढ्दै गरेको भए पनि हुन्थ्यो वा बिराटनगरतिर पनि आबेदन भरेको भए हुन्थ्यो तर मलाइ धरान क्याम्पसकै फिजिकल ग्रुपमा पढ्ने सनक थियो. तर त्यो सनक नचलेको भए जिन्दगि येति चाखलाग्दो चैं हुन्थेन रहेछ.
मेरो बर्तमान जीवनमा पनि प्राय एक्स्ट्रिम कुरा हुन्छ. चाहेर वा नचाहेर म प्राय चाकाचुलिमा भन्दा डोरीमा हिंड्ने खेल (टाइटरोप वाकर) चटके मा नै हिंडीरहेको हुन्छु. मलाई थाहा हुन्छछ चाकाचुलि (see-saw) मा सन्तुलन मिलाउन सजिलो छ लडिहालियो भने पनि मरिदैन फेरी चढ्न सकिन्छ. टाइटरोप (tight-rope) मा सन्तुलन मिलाउन गार्हो हुन्छ लडियो भने बाँच्ने मौकै पाइदैन. सुरुमा त सजिलोगरि चाकाचुलिमै हिंड्ने योजना बनाएको हुन्छु तर हिंड्दा हिंड्दै मोडमा जीवन रोलर कोस्टर (roller coaster) भईहाल्छ. त्यस बेला नियन्त्रणमा ल्याउँदाको मज्जा र चुनौती अर्कै हुन्छ. मेरो यस्ता धेरै अनुभवहरु छन्.
म धन्य छु संयोगले जीवन चलिरहेकै छ. जीवन प्रतिको मेरो दृष्टिकोण अलि अर्कै छ! समय मिलेछ भने बताउंदै जाउँला. के कुराले मानिसलाई डोर्याउँछ बडा गज्जब लाग्छ, हरेक मानिसले आफ्नै विशिष्ट शैलीमा जीवन जिएको देख्छु. सायद जीवनको "प्राप्ति" भनेको तेही होला!
६. काठमाडौंमा के कसरी रहनुभयो? बसाई कस्तो थियो?
करिब ३५ वर्ष अगाडिको कुरा हो काठमाडौं आउनुनै ठुलो फड्को मारे जस्तो भएको थियो. काठमाडौंमा राम्रो पढ्छु भनेर आएको थिएँ. तर बिद्यार्थी राजनीतिको भेलमा अल्झिएर बाऊले पढ्न दिएको पैसाको सहि सदुपयोग गरिन जस्तो लाग्छ तर त्यस कुरामा कुनै पछुताउ पनि छैन. मानिसले के के न गर्छु भनेर सोचेपनि उसको व्यक्तित्व र परिबेशले अर्कोतिर ध्यान खिच्दो रहेछ. काठमाडौंमा बस्दै जाँदा अनेक खाले जिन्दगी बित्यो तर अरु साथिभाइको भोगाई जस्तै मेरो बसाइ पनि संघर्स र चुनौतिपूर्ण थियो. तर त्यो बेला सबैलाई काठमाडौंमै थुप्रिनु पर्ने हुन्थ्यो र मं पनि त्यो बेवकूफी कुराबाट अछुतो थीइन.
अमेरिका आउनु अघि काठमाण्डौमै पद्मकन्या र अमृत क्याम्पस तिर पढाउने काम गरेर बस्थें. तर जीवन धान्नको लागि अन्य प्राइभेट ईन्स्टिटिउटहरुमा पनि काम गर्नै पर्थ्यो.
१२. भविष्यमा कहाँँ रहने वा रिटायर्ड जीवन कहाँ बिताउने सोच्नु भएको छ?
रिटायर्ड हुनेबेला त भइसकेको छैन (हाँसो). नेपाल गएको बेला जब हिमालको नजिक पुग्छु स्वर्ग नेपाल हो भन्ने लाग्छ. क्यान्सरलाई जितेर बांच्नुभएकी मेरी दिदीलाई लिएर गत वर्ष सगरमाथा हिमाल उडान गरें त्यो बेलापनि उडानबाटै त्यहाँ फेरी स्वर्ग देखें. तर बिधीले मलाई अमेरिकाको हवाई टापूमा पठाएको छ. हवाई साँच्चिकै स्वर्ग प्याराडाइज रहेछ. म धन्य छु मलाइ यी दुइ मध्ये एक ठाउँमा रिटायर्ड जीवन बिताउने आशिर्बाद मिलेको छ. तर हेरुँ कहाँ हुन्छ. समय संगसंगै परिस्थिति अनुसार अन्य ठाउँमा पनि बिताउन सकिन्छ. जहाँ भएपनि रिटायर्ड जीवन उत्सवको रुपमा बिताउने सोचाई छ.
७. अमेरिका आउने चाँजो कसरी मिल्यो? पढाई कसरी अघि बढाउनुभयो?
अमेरिकालाई साम्राज्यबादी मूलुक भनेर सोच्थें अनि के को चाँजो पाँजो मिलाएर बस्थें होला नि! तर अमेरिका टेकेको केहि घन्टामै मेरो त्यो सोचाईले पल्टा खायो, यो मूलुक त समाजबादी रहेछ. सन् २००१ सालमा विनलादेनले न्यूयोर्कको ट्विन टावर भत्काएको केहि हप्ता अगाडिको कुरा हो अचानक बुढानिलकण्ठ र सेन्ट जेभिअर्स कलेजमा पढाउने साथीहरुले रत्नपार्कमा भेला हुन बोलाए. ईर्ष्यालु र लालची जस्तो अनुहार पारेर वहाँहरुमधे एकजनाले भनिहाल्नु भयो "राइजी फिजिक्स्का धेरै साथीहरुले अवसर पाएर अमेरिका गए हामीपनि शुरू गरौँ." त्यसपछि पार्क छेउको रत्न पुस्तक भण्डारबाट अंग्रेजी भाषा परीक्षणको टोफल बुक किनियो. टोफल बुक छोएको यो नै पहिलो दिन थियो.
म सोझो सीधा अगाडि हिंड्ने मानिस परें vertical personality. गर्ने भनेपछि गर्ने नगर्ने भनेपछि नगर्ने. म टोफल पढ्न र आवेदनको झन्जटिलो प्रक्रियामा लागें. पढ्न सुरु गरेको करिब १० महिना पछि अमेरिकाको दुइवटा य़ूनिभर्सिटिबाट अफर आयो. ती साथीहरुलाइ बोलाएँ त्यो बेलासम्म वहाँहरु केहि नगरी बस्नु भा र छ. साथीहरुलाई पनि म औसत खालको बिद्यार्थी लाग्थ्यो. एकजनाले मेरै अगाडी फ्याट्टै भनिहाले "राईजी हामीभन्दा तेस्तो बिसेष केहि होइन तर लागिपरेपछि धेरै नसोची ठाडो रूपमा (vertical thinking) एक्शनमा आउने वहाको बानि भएकोले सफल हुनुभो" मेरो सक्सेस स्वीकार्न गाह्रोभो उहाँलाई. पछि मेरो सामग्री/तरिका सिकेर पछि ऊहाले पनि पिएच्डी सक्नुभो. तर मलाइ रत्नपार्कमा सल्लाह गर्न बोलाउदा वहाहरुलाई समयको तरंग राम्ररी थाहा थियो रहेछ.
मलाई त पछिपो थाहा भयो मंग्की टाइप धेरै साथीहरुले टोफल पढ्दा रहेछन मनग्गे साथीहरुलाइ अमेरिकामा अवसर मिलिसकेको रहेछ. सँधै मैले राईड दिएको साथी पनि अमेरिका पुगेको रहेछ. अब त प्रष्ट भैसक्यो होला मैले अमेरिका आउनको लागि कुनै सामाजिक/आर्थिक चाँजो पाँजो मिलाएर बसेको थिइन. तर फेरिपनि संयोग मिल्दै गयो. उड्ने पैसा थिएन तर अमेरिकाको भिसा लाग्यो भन्ने थाहा पाएपछि ब्याजमा पैसा दिनेहरुको कमि थिएन.
ससुराली दाइसंग अलिकति सापट मागें. म वहाँप्रति कृतज्ञ छु.
भिसा भैसकेपछि अनुबन्ध पत्रमा उल्लेख भएबमोजिम अमेरिका पुगेर कसरि के पढाउने र पढ्ने होला भन्ने कुराले चिन्तित हुन्थें. तर साथीभाई र घर परिवारले लड्डु खुवाउथे. फुल माला अबिर ल्याउथे तर मेरो ध्यान अमेरिकामा कसरि डिल गर्ने भनेर चिन्ता मात्रै थियो. तर अमेरिकामा जे काम गरेपनि पहिला ट्रेनिङ्ग दिदोरहेछ. पढ्ने पढाउने कुरामा ट्रेनिङ्ग लिदै गएँ. पढाउने काम पनि गर्दै गएँ. तेसै अनुरुप मेरो समय तालिका मिलाइएको थियो. नेपालमा बिसयबस्तु अलि फरक तरिकाले पढेको कारणले अमेरिकामा सुरुको पहिलो वर्ष निकै गार्हो नै भयो. नेपालमा साइन्स बिसय अंग्रेजी भासामै पढ्ने पढाउने गरेकोले निकै घमण्ड थियो. तर यहाँको युनिभर्सिटिमा गएको पहिलो हप्ता मैले बोलेको अंग्रेजी उनीहरुले बुझेनन् उनीहरुले बोलेको मैले बुझिन. मलाइ त्यो बेला आफ्नै नाम अंग्रेजीमा उच्चारण गरेर बताउन नसक्दा (accent problem) कति ठुलो सांस्कृतिक आघात (cultural shock) भयो होला!
तर अमेरिकामा पढिञ्जेल आर्थिक हिसाबले एक दिन पनि मैले बेरोजगार हुनु परेन. फिजिक्स डिपार्ट्मेण्टले शिक्षण/अनुसन्धान सहायकको जागीर संधै अफर गर्यो. नयाँ युनिभर्सिटिमा ट्रान्सफर गरिसकेपछि पनि पहिलाको डिपार्ट्मेण्टबाट तलब आइरहन्थ्यो. कतिपय मित्रहरुले डिपार्ट्मेण्टको मापदण्ड पुरा गर्न नसकेर भिसा र रोजगारीको झनजट्मा परेको पिडा देख्दा सार्है डर लाग्थ्यो. तेसैले यो समाजमा चाहिने जीवन कौशलतालाइ केन्द्रमा राखेर आफ्नो काम गर्थें. धेरै खाले सीप बिकाश गर्ने अवसर बन्यो. यसले मलाइ बिध्याबारिधि पछि आफ्नो पेशामा झनै मदत मिल्यो.
हरेक १५ दिनमा तलब आउने गर्थ्यो. यसको अलावा मलाई चार वर्ष सम्म डिपार्ट्मेण्टले टिचिङ्ग एसिस्टेन्ट मेण्टर (सल्लाहकार) को पनि जिम्मेवारी दियो त्यो बापत सेमेस्टरको एकहजार डलर तलव थपिन्थ्यो र मेरो जिम्मेवारी भनेको डिपार्मेण्ट र पीएचडी बिद्यार्थीहरुबीच सम्पर्क अधिकारीको रुपमा सरसल्लाह दिने काम गर्नु पर्थ्यो. नयाँ बिध्यार्थीहरुको समस्या बुझ्ने र त्यसको नेतृत्व पनि गर्नु पर्थ्यो. शुरुमा अमेरिका आउँदाको पहिलो पेचेक देखि २०१३ मा मिचिगन छाड्दाको अन्तिम पेचेकहरु (हार्ड प्रतिलिपि) अझै सुरक्षित राखेको छु. अस्ती प्रसङ्गबश ती चेकहरु छोरोलाई देखाएँ केटो एकछिन त छक्क पर्यो अनि मलाइ क्रेजी भन्यो.
मैले अमेरिकाको दुइवटा विश्वविद्यालयमा पढें. दुवै ठाउँको फिजिक्स डिपार्ट्मेण्ट्मा म नै पहिलो नेपाली बिद्यार्थी थिएँ. त्यहाँ मैले पधिसकेपछि पनि गत दस पन्ध्र बर्षको अबधिमा हरेक वर्ष फिजिक्स डिपार्ट्मेण्ट्ले नेपालीहरुलाई पीएचडी प्रोग्राममा छात्रवृत्ति दिने गरेको छ. यो देखेर म ज्यादै खुसि हुने गर्छु. नेपाली बिध्यर्थिले राम्रो गर्न सक्छ भन्ने छाप परिरहेको छ. नयाँ आउने भाइहरुको गुणस्तर धेरै राम्रो छ. कुनै कुनै भाइहरुले मैले त्यहाँ निर्माण गरेको प्रयोगशालाका मोडेलहरु सामग्रीहरु टेक्स्ट ईमेल गर्छन. "हामीलाई तपाईप्रति गर्व छ दाई (We are proud of you Dai)" भन्छन. दुवै ठाउको मेरा थेसिस एड्भाइजरहरु र कोर्स एड्भाइजर संग अहिले पनि मेरो संचार भैरहन्छ.
गत वर्ष कोर्स एड्भाइजर संग कोलाबोरेशन गरेर राष्ट्रीय विज्ञान फाउन्डेशन (NSF) अनुदानको आबेदनमा संगै काम गर्यौ.
८. हिजोआज के गर्दै हुनुहुन्छ? परिवारमा को को र कहाँ कहाँ के गर्दै हुनुहुन्छ?
मेरो मुख्य जिम्मेवारी पढ्ने पढाउने पेशामा रोटी पेल्ने काम जारी नै छ. तर यो वर्षको सुरुदेखिनै युनिभर्सिटिको हाइ परफरमेन्स कम्प्युटर क्लस्टरमा घनत्व कार्यात्मक सिद्धान्त प्रयोग गरेर कार्बोफीन बारे अनुसन्धानको काममा पनि समय दिन थालेको छु. यो अनुसन्धान मेरो करिब १५ वर्ष अगाडिको सपना थियो. प्रोग्रामको जबइस्क्रिप्त लेख्छु. पाइथन भन्ने साइण्टिफ़िक कम्प्युटर ल्याङ्गुएज पनि सिक्दैछु यो मेरो जबइस्क्रिप्तको यौटा भाग हो. यहाँ हवाईको युनिभर्सिटीमा आएपछि पहिलो पांच वर्ष मेरो फ्याकल्टी टेनिउर पोजिशनलाई सुरक्षित गर्ने र पदोन्नतीको काममा अत्यधिक संलग्न थिएँ. यी कुराहरुले गर्दा शोधपत्रको काममा अलि पछि परेको छु.
परिवारको बारेपनि सोधिहाल्नु भो. आइ लाइक ईट. मेरो बृहत किसिमको बिस्तारित परिवार छ सबैको बारे भनेर साध्ये छैन. सबैजना मिहेनती र सोझा-साझी छन्. धेरै जसो गाउतिरै बस्छन. साना ठुला सबैले मलाई साथीजस्तो ठान्छन म संग खुलस्त भएर कुरा गर्छन. सबैले मेरो चासो राख्छन. कहिलेकाहीं डलर रुखमा फल्दैन म अमेरिकामा पैसा कमाउन आएको होइन भन्छु. तेतिनै हो हामीबीच कुनै मनमुटाव हुँदैन कुरा खुलस्त गर्ने हाम्रो पारिवारिक विशेषता हो.
आमा-बुबा र ठुली दिदि बितिसक्नुभो. हाम्रो परिवारको अभिबाबक भनेकै दाजु-भाउजु हुनुहुन्छ. वहाहरु रिटायर्ड जीवन बिताइरहनुभा छ. भिनाजु दाइ जस्तै लाग्छ. वहाहरुलाई भेट्ने गर्छु.
श्रीमती आफ्नै काममा ब्यस्त छ. छोरो २२ बर्सको भयो फ्लोरिडा ईस्टेट य़ूनिभर्सिटिमा भौतिक शास्त्रमा पीएचडी गर्दैछ. मेरो ट्राभलमा बढी खर्च हुन्छ तर कुनै गुनासो छैन. सबैलाई सबैकुरा प्राप्त हुने भाग्य हुँदैन रहेछ.
९. तपाईंको अध्ययनको विषय के हो? अर्थात तपाईंको विद्यावारिधीको अध्ययनको प्राज्ञिक निष्कर्ष के हो?
राम्रो प्रश्न सोध्नुभो. मेरो रोजाइमा परेको बिसय क्वाण्टम साईन्स थियो तर पछि विद्यावारिधी शोधपत्रको मुख्य विषय विद्युतचुम्बकीय सिद्धान्तमा आधारित फ़ोटोनिक क्रिस्टल भन्ने एक किसिमको कृतिम मणिभको डिजाईन गर्ने बारे हो. यसको अनुप्रयोग अप्टिकल फाइबर, बाईस्टेबल स्विच र वेभगाइड लगायतका इलेक्ट्रोनिक्समा गर्न सकिन्छ. यो मणिभको भित्रि संरचनामा बिसेष किसिमको मिसावट हाल्न सकियो भने त झन धेरै नियन्त्रित र स्मार्ट कार्य गर्न सकिने रहेछ! मेरो धेरै समय यहि मिसावटको डिजाईन गर्ने काममा बित्यो. कुन डिजाईनबाट कस्तो विद्युतचुम्बकीय तरंगहरु कसरि ट्रान्समिशन हुन्छ र तीनका विशेषताहरु कस्तो हुन्छ भन्ने कुराको अनुसन्धान गरेको छु. अनुसन्धानबाट प्राप्त केहि परिणामहरु मेरो विद्यावारिधीको शोध पत्रमा व्याख्या गरेको छु.
ईमान्दार भएर अध्येयन अनुसन्धान गरें. हेर्नुस, आधारभूत विज्ञानसम्बन्धिको अध्ययन अनुसन्धानमा ठ्याक्कै यस्तो यन्त्र पत्ता लगाएँ भन्ने हुँदैन. गणितमा निर्दिस्ट भएर आफ्नो तर्क वा शोध प्रबन्ध लाइ प्रमाणित त गर्नै पर्छ. तर आफ्नो थेसिसमा अन्तर्दृष्टि (इनसाइट) र अनुमान (इन्फरेंस) को विकास गर्नुनै आविस्कार हो त्यो नै आविस्कारको मानक ठानिन्छ. यस्ता कुराहरू मेरो डिजटेसनमा धेरै छन्। गैर विज्ञान बिसयका धेरै पधेलेखेकैहरुले पनि यो कुरा थाहा नपाएका हुन सक्छन.
नेपालको बैज्ञानिक समुदायको लागि त यो कुरा त्यहाँका अरु शिक्षित समुदायलाई बुझाउनुपर्ने झन् ठुलो चुनौती भएको पाउछु.
१०. तपाईंको यो अध्ययनबाट नेपाल र नेपाली समाज के कसरी लाभान्वित हुनसक्छ? अर्थात तपाइएंको बौद्धिक सम्पत्तीबाट तपाईं जन्मे हुर्केको समाजले के र कसरी फाईदा लिनसक्छ?
फेरी राम्रो प्रश्न सोध्नुभो. केहि दिन अगाडी मैले वोर्ल्ड इकोनोमिक फोरममा डाइस्पोरा बारे एउटा लेख पढेको थिएँ. त्यो लेखको शीर्षकमै "तिनीहरूलाई मौका दिनुहोस् (Let's give them the chance)" भन्ने बिचार मन पर्यो.
नेपाली डायस्पोराहरुले पनि नलेज शेअरिङ्ग र कोलाबोरेसनको कुरा गर्न थालेको धेरै वर्ष बितिसक्यो.
अब म यहाँ डाइस्पोरा हुँ भन्दै बिदेशी भूमिमा बसेर देश बनाउने कुरामा धेरै महानता देखाउँदा तेती रमाईलो नहोला. म गफ चुट्ने डाइस्पोरा परिन. हुन त गफ चुट्नेहरुनै हिरो देखिन्छन वर्तमान नेपाली समाजमा.
हेर्नुस, म यो जान्दछु ऊ जान्दछु यो गर्न सक्छु यस्तो मानिस हुँ भन्दै कहिले पनि हिंड्न र धाउन सक्दिन. यो मेरो बच्चा देखिको आत्म विवेकले कहिलेइ नदिएको कुरा हो.
कतिपय नेपाली डाइस्पोराहरु सांचिकै विद्वान छन्, जान्दछन र जान्दछु पनि भन्छन. ती महान हुन्.
तर कतिपयचैं झुक्क्याउन खोज्छन. पछौटे समाज, सानो मुलुक र प्रतिस्पर्धा बिनानै हुर्किएको कारणले होला अनेक खाले अभिनय गर्छन टाठा बाठा भएको देखाउछन् सामाजिक अभियन्ता पनि बन्छन ती केवल मयलका फिंज जस्ता लाग्छ मलाइ. तीनलाई अवसर दियियो भने मैले महान भनेका साँच्चिकै बैज्ञानिकहरुलाईचैं के भन्ने होला नि! तर दुर्भाग्यवश बारम्बार नेपाली समाजमा अयोग्यहरुलेनै चौका हानेको देखिन्छ. यस्तो धमिलो परिबेशमा म योग्ग्य छु भन्दै धेरै बकबास गर्दा सहि समाचार नहोला जस्तो लाग्छ.
मेरो विश्वास के हो भने यदी आफु जन्मे हुर्केको समाजलाइ आफ्नो बौद्धिक सम्पतिको खाँचो पर्यो भने त अब जुनसुकै बेलापनि ढोका खुल्ला छ.
आफ्नो ज्ञान र विवेकलाई संधै अद्यावधिक गरेर राखिरहेको छु. त्यो नै काफ्फी भएन र! यहि कुरा प्रयोग गरे भैहाल्यो नि! धेरै पहिला मैले अमेरिकन कन्सुलरलाई लेखेको इस्टेट्मेण्ट्को पहिलो बाक्यनै यस्तो थियो: as king Prithvi Narayan said, "Go abroad, learn well, and come back to your own motherland to serve her!"
मेरो विशेषज्ञता शिक्षा सम्बन्धि हो. आफ्नो बिसयबस्तु भौतिकशास्त्र र विद्यावारिधी अध्ययनको प्राज्ञिक ज्ञानसंग सम्बन्धित कुरालाई लिएर नेपालका बैज्ञानिक वा संस्थाहरुसंग ज्ञान साझेदारी गर्ने कामको पहल गरिसकेको छु. कोर अनुसन्धानको लागी निकै ठुलो धन राशी चाहिने हुन्छ जुन कुरा राज्यले पहल गर्नु राम्रो. तर अनुसन्धानकर्ता आफैंले ठुलो मात्रामा अनुदान प्राप्त गर्न सक्ने हो भने राज्य बिनानै उच्च कोटीको अनुसन्धान गर्न सकिन्छ. नेपालको भौतिक शास्त्रिहरुकै परिवारमा पनि यस्तो काम गर्न सक्ने नयाँ वैज्ञानिकहरु जन्मिसकेको देख्छु. तर के कुराले हो त्यहाँ सफलता मिलिरहेको छैन.
मैले गत एक दशकको अबधिमा पढ्ने र पढाउने कुरा बाहेक शिक्षा सम्बन्धि अन्य थुप्रै विषयहरुमा नेतृत्वदायी भूमिका निभाउने अवसर पाएको छु. ती ज्ञानहरु नेपालमा सोझै लागु गर्न पाए एउटा क्रान्तिनै हुन्थ्यो होला जस्तो लाग्छ. लिडरशिपको भूमिका गरेबापत मेरो शिक्षण भार तिन क्रेडिट्ले कम गरिन्छ वा ओभरलोडको थप तलब आउछ. विशेष गरी शिक्षण र सिकाई सम्बन्धि अनुसन्धान, पाठ्यक्रम निर्माण र त्यसको कार्यान्वयन, एकाडेमिक नेतृत्व, संकायहरुको सफलता, व्यावसायिक र आत्म विकास कार्यक्रम, कलेज र सामुदायिक सेवाहरू र student governance आदि बारे प्रस्टसंग ज्ञान हासिल गरेकोछु भन्ने आत्मबिस्वास छ. म क्याम्पसको प्राकृतिक विज्ञान (Natural Science program) कार्यक्रमको संयोजक भएर पाँच वर्ष काम गरिसकेको छु. दुइ वर्ष Liberal Arts program को कार्यकारी समितिमा समेत काम गरें.
टेक्निकल अटोमोटिभ जस्ता व्यावसायिक शिक्षा देखि ईन्जिनियरिङ्ग, ईलेक्ट्रोनिकस, टेक्नोलोजी र मेडिकल कलेजहरुको लागि आवश्यक (required) पर्ने भौतिक शास्त्रको पाठ्यक्रम म आफैले डिजाईन गरेको छु. पाठ्यक्रम स्वीकृत हुन क्याम्पस सेनेट र उपकुलपति सम्म सुनुवाई हुनु पर्दछ. केहि कोर्सहरुको लागि हरेक वर्ष लेक्चरर संग अनुबन्धन गर्छु.
म हाल मेरो सब्बाटिकल बिदा स्वीकृत गर्ने प्रक्रियामा छु. यो स्वीकृत भयो भने नेपालमै केहि गर्ने सोचाई बनाएको छु. संस्थागत रुपमै काम गर्न सके धेरै राम्रो हुनेथियो भनेर नेपाल एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोजी (NAST) को हवाई विश्वविद्यालय संग समझौता ज्ञापन पत्र (MoU) गरिसकेको छु. मलाइ खास गरि "उच्च उचाई को भौतिकशास्त्र (The Physics of High Altitude)" बारे काम गर्न रुचि छ. मेरो सब्बाटिकलमा हाई अल्टिचिउड बारे एउटा पाठ्यक्रम निर्माण गर्न सकें भनेपनि ठुलो कुरा हुन्थ्यो भन्ने लाग्छ. तेही मौकामा सगरमाथामा निर्माण गरिएको पीरामीड ल्याब (Pyramid Observatory) मा गएर केहि दिन काम गर्ने योजना बनाइरहेको छु. हेरौँ के हुन्छ जे-जे गर्न सकिने हो त्यही-त्यही गर्दै जाने हो।
त्यसै गरि स्थानीय रूपमा उपलब्ध संसाधनहरू प्रयोग गरेर कसरि भौतिक शास्त्रको अध्येयन अध्यापन गर्न सकिन्छ भन्ने बिसयमा पनि गत दुई वर्ष अगाडीदेखि अनुसन्धान गरि बसेको छु. यही विषयमा रहेर २०१८ सालको हवाई प्यासिफिक सम्मेलनमा एउटा कार्यशाला गोष्ठीको नेतृत्व गरिसकेको छु. यो प्रविधी नेपाल जस्तो मुलुकमा झन् उपयुक्त हुन्छ भन्ने मेरो शोध हो.
मैले विशेषज्ञताको रुपमा काम गर्न रुचि भएको अर्को क्षेत्र हो शिक्षण दर्शन बारे. अमेरिकामा आएको पहिलो बर्षदेखिनै जब म कक्षामा पधाउन जान्थें तब मैले यो बिसयमा सोच्न सुरु गरेको थिएँ.
हवाई बिस्वबिध्यालय आएपछि गत सात बर्सको अबधिमा त यो बारे झन् राम्रोसंग अनुसन्धान र प्रशिक्षणहरु गर्ने अवसर मिल्यो. रिचार्ड फ़ाइमेन, वाल्टर लेवीन र मिचिओ काकु जस्ता भौतिक शास्त्रीहरु मेरा हिरो हुन.
उनीहरुको शिक्षण बिधि मेरो शिक्षण शैलीमा झल्कने गर्दछ जुन कुरा मेरो कक्षाकोठा अबलोकन गर्ने सहकर्मीहरुले आफ्नो रिपोर्टमा उल्लेख गर्नुभएको छ.
मेरो शिक्षण दर्शनलाइ अझ परिस्कृत गर्ने सन्दर्भमा सन् २०१९ मा एक बर्सको लागि बिस्वबिध्यालयबाट फ्याकल्टी गिल्ड ळुमेइन सर्कल फेलोशिप प्राप्त गरेको थिएँ.
मौका मिलेको खण्डमा सब्बाटिकलमा रहेको बेला नेपालमा यी बिसयाहरुको बारे पनि नलेज शेअरिङ्ग गर्ने योजना बनाईरहेको छु.
११. फर्किएर हेर्दा आफ्नो जीवन र संघर्षपुर्ण यात्रा कस्तो लाग्छ?
मेरो बानि फर्किएर हेर्ने भन्दा पनि अगाडि आएकातिर बढी केन्द्रित हुने खालको छ. यतिका वर्षहरु कसरि बिते पत्तै भएन! विगतलाइ संश्लेषण गरेर हेर्दा गत पाँच बर्सको अवधि बाहेक सधैं आंधिबेरी तूफान र अनिश्चितताको अवस्था थियो. तर मेरो लागि जीवनको अर्थ निरन्तर अगाडी बढनुको विकल्प थिएन रहेछ. आफैले भोगेको कुरा बताएको हुँ. पीडा भोग्ने अवसर सबैलाई मिल्दैन. सबै कुरा एउटै अन्तर्वार्तामा बताउन सकिदैन. तर आजकल भने जिन्दगी मेरो नियन्त्रणमा छ. समय मिल्यो भने यो बारे पछि कुरा गर्दै जाउँला.
एउटा कुरा गरिहालौं न त. धेरै पहिले BSc/MSc पढ्दा मेरो ध्यान कक्षा कोठामा भन्दा पनि बाहिर सडकतिर देश बनाउन तिर बढी हुन्थ्यो.
तेही छाप परेको कारणले गर्दा होला अमेरिकामा छात्रवृत्ति पाएछ भन्ने खबर पाएपछि त्यो बेला संगै पढेका कतिपय साथीहरुलाई अचम्म लाग्यो. तिनलाई अलि शक् (shock) भयो.
मानौं पढ्ने काम उनीहरुको मात्रै बिरासत हो भन्ने ठान्थे तर यो ठान्नुमा वहाँहरुको ठुलो दोष थिएन. बाहिरी गतिविधिले मेरो करिअरमा केहि क्षति पुग्यो तर मेरो भित्री ईन्थुजिआज्म कहिल्यै मरेन.
अहिले आएर सबैको वास्तविकता हेर्दा यस्तो लाग्छ कि प्रतिभाशाली मिहनतीहरुले आफ्नो समय र पासनको सदुपयोग नगर्दा भद्दाहरु पर्दामा देखिन पुग्दो रहेछ. जीवनको हरेक पाईलामा प्रतिष्पर्धा हुने गर्दो रहेछ तर अन्तिम नतिजाको मजा अर्कै हुन्छ.
१३. तपाईंको जीवन विश्वास के हो?
जीवन संयोग हो. मानिस जन्मिदा टाउकोले पहिला धर्तीमा टेक्छ र मर्दा खुट्टाले पहिला धर्ति छोड्छ. यी दुइ घटनाको बिचमा जे जति कुरा हुन्छन ती सबै सन्तुलनको खेल मात्र हो. सन्तुलन कायम राख्नु चुनौतीपूर्ण हुन्छ. कुनै कुरा नराम्रो र नचाहिने हुँदैन.
कुनै घटना तेसै घट्दैन. कुनै चिज तेसै प्राप्ति हुँदैन. सबै कुराले ब्लेस्ड (blessed) कोहि हुँदैन. प्रत्येक मानिस पिडा र कस्टहरुको पोको हो. यी सब कुरामा सन्तुलनको खेल छ. सन्तुलन कायम राख्न सकियो भने जीवनलाई ब्यबस्थित गर्न सजिलो हुन्छ.
मेरो हकमा चाहिं सन्तुलन भत्किने र बन्ने क्रम चलिरहेकै छ!
१४. अन्त्यमा केहि भन्नु हुन्छ कि?
जीवनमा निरन्तर अगाडी बढनुको विकल्प छैन. ठूलो सपना राख्नु, नैतिकतापूर्वक कार्य गर्नु र मानिसलाई आदरपूर्वक व्यवहार गर्नु (ड्रिम बिग, याक्ट एथिक्ली, एण्ड ट्रिट पिपल विड रेस्पेक्ट). कुनै कुराको पनि abuse नगर्नु. बास्, यति भैसकेपछि त धेरै कुरा राम्रो भैहाल्छ नि!
मलाइ आफ्नो कुरा राख्ने मौका दिनुभएकोमा फेरिपनि धेरै-धेरै धन्याबाद! अलोहा!